काठमाडौं ,१५बैशाख: उपनिर्वाचनबाट चुनिएका तीन जना प्रतिनिधि सभा सदस्य (सांसद) हरुको शपथग्रहण आज शुक्रबार हुँदैछ ।
बारा २ बाट निर्वाचित उपेन्द्र यादव, चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज शुक्रबार बिहान साढे ११ बजे शपथ ग्रहण गर्न लागेका हुन् ।
उनीहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्नेछन् ।
गत मंसिर ४ को निर्वाचनबाट तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएकाले यही वैशाख १० गते उपनिर्वाचन गरिएको थियो । उपनिर्वाचनबाट लामिछाने पुनः सांसद चुनिएका हुन् ।
यसैगरी यसअघि कांग्रेसले जितेको तनहुँ १ बाट कांग्रेस त्यागेर रास्वपामा गएका अर्थविद वाग्ले चुनिएका हुन् ।
अघिल्लो पटक जनमत पार्टीका सीके राउतसँग सप्तरी २ बाट पराजित भएका जसपा अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनको समर्थनमा बारा २ बाट चुनाव जितेका हुन् ।
The post उपनिर्वाचनबाट जितेका तीन सांसदकाे शपथ ग्रहण आज appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया