२०८२ जेष्ठ १७ गते शनिबार २३:४९
वीरगंज, २८ बैशाख । नाबालिकालाई भारत, बिहारको रक्सौलमा लगेर यौनधन्दामा लगाउने एक महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवाकी २० वर्षीया आलिया खातुनलाई प्रहरीले शनिवार बिहान २ बजे पक्राउ गरेको जनाएको छ । आलियाले नाबालिकालाई नयाँ कपडा किनिदिने र पैसा दिने प्रलोभन देखाई भारतको बिहार रक्सौलस्थित होटलहरुमा यौन धन्दामा लगाउने गरेको जाहेरीमा भनिएको छ । बालिकाको अभिभावकले छोरी घरबाट सम्पर्कविहीन भएपछि खोजतलाशका लागि प्रहरी कार्यालयमा निवेदन दिएका थिए । ती बालिकालाई आलियाको घरबाट शनिवार बिहान २ बजेतिर इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीले उद्धार गर्नुका साथै आलियालाई नियन्त्रणमा लिएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए । प्रहरीसँगको बयानका क्रममा नाबालिकाले आफूलाई आलियाले झुक्याएर रक्सौल बजारमा लगेको र त्यहाँका विभिन्न लजमा लगेर पुरूष ग्राहकसंग पैसा लिएर यौनधन्दामा लगाएको प्रहरीको दावी छ । पक्राउ परेकी आलियाले यसभन्दा पहिलापनि बालिका र किशोरीलाई विभिन्न प्रलोभन दिएर यौनधन्दामा लगाउने गरेको प्रहरीको भनाइ छ । आलियाविरूद्ध मानव वेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस