२०८२ जेष्ठ २ गते बिहीबार ००:०७
राधेश्याम साह गौर, २० वैशाख । नेपाल पत्रकार महासंघ रौतहटले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रियामा पत्रकारिताको महत्व, अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र सञ्चारकर्मीहरूको व्यावसायिक सुरक्षा जस्ता समसामयिक विषयमा छलफल भएको छ । कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक नेत्र मणि गिरीले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरूदण्ड भएको भन्दै यसको संरक्षण सबैको साझा दायित्व भएको बताए । उनले पत्रकारिता लोकतन्त्रको आधार स्तम्भ भएकाले यसलाई निष्पक्ष, स्वतन्त्र र जिम्मेवार ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले प्रहरी प्रशासन सधैं प्रेससँग सहकार्य गर्दै अघि बढ्न तत्पर रहेको उल्लेख गर्दै पत्रकारहरूको सुरक्षाको विषयमा समेत गम्भीर रहेको धारणा राखे । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्कीले प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारको हक–अधिकारका लागि महासंघ सधैं सक्रिय रहेको बताए । उनले अभिव्यक्ति स्वतन्त्रता कुनै पनि लोकतान्त्रिक समाजको आधार भएको बताउँदै प्रेसमाथिको कुनै पनि प्रकारको दबाब स्वीकार्य नहुने बताए। कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व अध्यक्ष रबीन्द्र साहले प्रेस स्वतन्त्रताको वर्तमान अवस्था, चुनौतीहरू र समाधानका उपायहरूबारे विचार व्यक्त गरे । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लागि विभिन्न समयमा भएका संघर्षमा प्राणोत्सर्ग गर्नुहुने सम्पूर्ण पत्रकार सहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पूर्व अध्यक्ष साहले यस दिवसले राज्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न एवम् पत्रकारहरूलाई सत्य, निष्पक्ष, नैतिक र उत्तरदायी पत्रकारिता गर्नेतर्पm प्रेरित गर्ने विश्वास व्यक्त गरे । महासंघका सचिव गौतम श्रेष्ठले विश्व प्रेस स्वतन्त्रता दिवस प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृत्रिम बुद्धिमत्ताको प्रभावका सन्दर्भमा केन्द्रित रहेको छ, विज्ञान प्रविधिको नवीनतम विकासका रूपमा एआइको प्रवेशले पत्रकारिता क्षेत्रमा यसको सकारात्मक योगदानसँगै गलत सूचना, निगरानी र डिपफेकजस्ता चुनौतीहरूसमेत सिर्जना गरेकोले पत्रकारिता क्षेत्रले यस प्रविधिलाई सदुपयोगसहित उत्तरदायी, पारदर्शी र नैतिक पत्रकारिताको अभ्यासलाई निरन्तरता र उत्तरदायित्व बनाएको बताएका छन् । कार्यक्रममा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रता सुनिश्चित गर्न सरकार, सुरक्षा निकाय र सञ्चारकर्मीहरू बीच आपसी समन्वय र विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा अग्रज पत्रकार शिवपुरी, गौतम श्रेष्ठ, दिनेश यादव, बिना श्रीवास्तव, शिवपुरी, श्रीकान्त यादव, रबीन्द्र साह, राधेश्याम साह, पुष्पराज यादव लगायत नेपाल पत्रकार महासंघका सदस्य र श्रमजीवी पत्रकार संगठनका सदस्यहरू, सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस