ग्यासु मिया देवान
बिरगंज, जेष्ठ १९ गते / भारत सरकारको आर्थिक सहयोगमा रौतहट जिल्लाको राजदेवी नगरपालिका–४ स्थित श्री प्राथमिक विद्यालयको नयाँ विद्यालय तथा पुस्तकालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।
भारतको महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्यदूत श्री देवी सहाय मीना तथा राजदेवी नगरपालिकाका मेयर भिखारी प्रसाद यादवले संयुक्त रूपमा भवन निर्माणको शिलान्यास गरेका हुन् ।
भारत सरकारको करिब २८.४ मिलियन नेपाली रुपैयाँको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत सञ्चालन हुनेछ ।
परियोजना अन्तर्गत भुइँतला सहित दुई तले भवन, आठ कक्षाकोठा, छात्र–छात्राका लागि छुट्टाछुट्टै शौचालय, सेप्टिक ट्याङ्की, सोक पिट, ट्युबवेल, सरसफाइ तथा विद्युतीय सुविधासहितको पूर्वाधार निर्माण गरिनेछ ।
कार्यक्रममा नगर प्रमुख, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाहरूले शिक्षा क्षेत्रको विकासका लागि भारत सरकारले उपलब्ध गराएको सहयोगको प्रशंसा गरेका थिए ।
शिलान्यास कार्यक्रममा बोल्दै वक्ताहरूले नयाँ भवन निर्माणपछि विद्यालयको शैक्षिक वातावरण सुधार हुनुका साथै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा हासिल गर्न थप सहज हुने विश्वास व्यक्त गरे ।
नेपाल र भारतबीचको विकास साझेदारीअन्तर्गत सञ्चालित यस्ता परियोजनाहरूले स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य तथा अन्य सामाजिक क्षेत्रको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
विद्यालय भवन निर्माण परियोजनाले राजदेवी नगरपालिकाको शैक्षिक विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको बुद्धिजीवीहरुले बताए ।














