[ndu_today_date]

( ग्यासु मिया देवान )
वीरगञ्ज, जेष्ठ २०/
विश्व साइकल दिवसको अवसरमा भारतको महावाणिज्य दूतावास, वीरगञ्ज र वीरगञ्ज साइकलिङ क्लबको संयुक्त आयोजनामा बुधबार वीरगञ्जमा भव्य साइकल र्‍याली सम्पन्न भएको छ।
महावाणिज्यदूत श्री देवी सहाय मीनाज्युले महावाणिज्य दूतावास परिसरबाट झण्डा देखाएर र्‍यालीको शुभारम्भ गरेका थिए। र्‍याली घण्टाघर, माइस्थान, आदर्शनगर र छप्कैया क्षेत्र हुँदै भारत–नेपाल सीमास्थित शंकराचार्य गेटसम्म पुगेर पुनः महावाणिज्य दूतावासमा आएर समापन भएको थियो।
कार्यक्रममा स्थानीय व्यवसायी, वीरगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधि, नेपाल युवा उद्यमी मञ्च वीरगञ्ज शाखाका पदाधिकारी र वीरगञ्ज साइकलिङ क्लबका सदस्य, नागरिक समाजका प्रतिनिधि, दूतावासका अधिकारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
र्‍यालीमा सहभागीहरूले स्वच्छ वातावरण निर्माण, प्रदूषण न्यूनीकरण तथा छोटो दूरीका यात्राका लागि साइकलको प्रयोगलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
सहभागीहरूले साइकललाई स्वास्थ्य, वातावरण र दिगो यातायातको प्रभावकारी माध्यमका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए।
समापन समारोहलाई सम्बोधन गर्दै महावाणिज्यदूत श्री देवि सहाय मीनाज्युले विश्व साइकल दिवसको महत्वमाथि प्रकाश पार्दै साइकल वातावरणमैत्री, किफायती र दिगो यातायातको उत्कृष्ट साधन भएको बताउनु भयो ।
उनले नियमित साइकल प्रयोगले स्वास्थ्य सुधारका साथै वातावरण संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो ।
उनले यस्ता कार्यक्रमहरूले भारत र नेपालबीचको जनस्तरीय सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमले स्वस्थ जीवनशैली, हरित वातावरण तथा दिगो गतिशीलताको प्रवर्द्धनमा दुवै देशको साझा प्रतिबद्धतालाई समेत उजागर गरेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस