- बिरगंज,जेष्ठ ३०/
भारतीय महावाणिज्य दूतावास बीरगंजद्वारा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा आयोजीत योग शिविर आज पहिलो दिन पर्साको सखुवा प्रसौनी गाउँपालिकामा योगसत्र भब्यरुपमा सम्पन्न भएको छ ।
भारतीय महावाणिज्य दूतावास बीरगंजद्वारा आयोजनामा र सखुवा प्रसौनी गाउँपालिकाको सहकार्यमा १३ जुन २०२६ मा श्रीपुर बजार, औराहा पाँचगावा, सखुवा प्रसौनी वडा न, २ मा भब्य योग शिविर कार्यक्रम आयोजना गरिएको छ ।
सो कार्यक्रम १२ औं अन्तर्राष्ट्रिय योग दिवसको विश्वव्यापी उत्सवको पूर्वसन्ध्याको रूपमा आयोजना गरिएको थियो ।
कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका करिब ३५० जना सहभागी थिए। मधेश प्रदेशका माननीय वन तथा वातावरण मन्त्री श्री शंकर प्रसाद चौधरीज्यू प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष श्री जसवन्त यादव विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो।
प्रमुख अतिथि श्री शंकर प्रसाद चौधरीज्यूले दैनिक जीवनमा योगको सान्दर्भिकतामाथि जोड दिनुभयो र सहभागीहरूलाई शारीरिक, मानसिक र आध्यात्मिक कल्याणको लागि यसलाई नियमित अभ्यासको रूपमा अपनाउन आग्रह गर्नुभयो। श्री जसवन्त यादवज्यूले सखुवा प्रसौनीमा कार्यक्रम आयोजना गरेकोमा वाणिज्य दूतावासप्रति कृतज्ञता व्यक्त गर्नुभयो र स्थानीय समुदायको हितको लागि भविष्यमा यस्तै कार्यक्रमहरूको लागि निरन्तर सहकार्यको लागि अनुरोध गर्नुभयो।
महावाणिज्यदूत श्री डी. एस. मीनाज्यूले योगलाई भारतले विश्वलाई दिएको प्राचीन उपहारको रूपमा प्रकाश पार्नुभयो र समग्र स्वास्थ्य, सद्भाव र आन्तरिक शान्ति प्रवर्द्धनमा यसको भूमिकामा जोड दिनुभयो। वहाँले योगले भारत-नेपाल सम्बन्धलाई गहिरो बनाउने शक्तिशाली सांस्कृतिक पुलको रूपमा काम गर्ने उल्लेख गर्नुभयो।
कार्यक्रममा जगरनाथपुर गाउँपालिका (पर्सा) का अध्यक्ष श्री श्रीकान्त यादव, एसपी, सशस्त्र प्रहरी बल, पर्सा र एसपी-राष्ट्रिय अनुसन्धान विभाग, पर्सा लगायत वरिष्ठ सरकारी अधिकारीहरू साथै जिल्ला प्रशासनका अन्य अधिकारीहरूको पनि उपस्थिति थियो। पतञ्जलि योग समितिका सदस्यहरू र विद्यार्थी, शिक्षक, सामाजिक कार्यकर्ता र स्थानीय बासिन्दाहरू लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूले उत्साहपूर्वक भाग लिए।
यस सत्रमा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेकोे र योगलाई दैनिक दिनचर्यामा एकीकृत गर्ने सामूहिक संकल्पका साथ समापन भएको थियो ।
यो कार्यक्रम १२ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास, बीरगंज द्वारा आयोजना गरिने कार्यक्रमहरूको श्रृंखलाको पहिलो कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको हो ।












