२०८२ जेष्ठ २० गते मंगलवार ०५:११
वीरगंज, ९ जेठ । भोजपुरी प्रतिष्ठानले “आपन भाषा आपन पहचान” अभियान शुरू गरेको छ । वीरगंजका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको अभियान अन्तर्गत शुक्रवार कन्या माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूलाई मातृभाषा, संस्कृति र कलाको महत्ववारे जानकारीमूलक सन्देश दिइएको थियो । प्रतिष्ठानका सल्लाहकार प्रमोद पाण्डेले मातृभाषा संरक्षण र विकासमा सबैले अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा सदस्य मुकेश महतो नुनियाले भोजपुरी लोकचित्रकला र यसको महŒववारे व्याख्या गर्दै चित्र बनाउन प्रयोगात्मक तालिम दिएका थिए। सदस्य कवि तथा गीतकार आमोद गुप्ताले भोजपुरी कविता वाचन र गीत प्रस्तुत गर्दै भाषा सन्देश प्रवाह गरेका थिए । श्याम सर्राफले मातृभाषाको गर्वका साथ प्रयोग गर्न विद्यार्थीहरूलाई प्रेरित गरेका थिए । वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले भाषा, कला र संस्कृतिको संरक्षणमा भोजपुरी प्रतिष्ठानको प्रयास सराहनीय रहेको भन्दै मातृभाषामा बोल्न, लेख्न र अभिव्यक्त गर्न सबैले पाउनुपर्ने धारणा राखे। कार्यक्रममा सहभागीहरूले पहिलोपटक मातृभाषामा निर्धक्क छलफल गर्न पाउँदा खुशी र गर्व महसुस गरेको बताए । प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा भएको कार्यक्रममा ७० जना विद्यार्थीहरूको सहभागीता रहेको थियो। कार्यक्रम सञ्चालन माधुरी महतोले गरेकी थिइन् भने सहजीकरण सदस्य सचिव अमित अग्रवालले गरेका थिए ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस