२०८२ जेष्ठ २० गते मंगलवार ०५:००
बारा, १० जेठ । मोटरसाइकलको ठक्करबाट मृत्यु भएका बालकको शव राखेर बारा जिल्लाको सुवर्ण गाउँपालिकामा स्थानीय प्रदर्शन गरेका छन् । वडा नं. २ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, कबहीमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीय छोटेलाल रामको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो । रामटोल–१, बारा निवासी राजेन्द्र रामका छोरा छोटेलाललाई बिहीवार बिहान घुसुकपुर टोलमा मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका थिए । नेशनल मेडिकल कलेजमा उपचारको क्रममा शुक्रवार बालकको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको र हालसम्म प्रहरीले चालकलाई नियन्त्रणमा लिन नसकेको भन्दै स्थानीयले बालकको शव सडकमा राखेर प्रदर्शन गरेका थिए । दोषीलाई कारबाहीको माग गर्दै शवलाई सडकमा राखेर प्रदर्शन गर्दै उनीहरूले प्रहरी प्रशासनप्रति असन्तुष्टि जनाएका थिए । प्रदर्शनका कारण सो क्षेत्रमा केहीबेर यातायातसमेत प्रभावित भएपछि स्थानीय प्रशासन र प्रहरी अधिकारीहरूले घटनास्थलमा पुगेर स्थिति सामान्य बनाएको छ । प्रहरीले अनुसन्धान जारी रहेको र मोटरसाइकल चालकको पहिचान तथा खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ । घटनास्थलका साक्षी तथा सीसीटीभी फुटेजमार्फत अनुसन्धान भइरहेको र दोषीलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याई कारबाही गर्ने बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस