२०८२ जेष्ठ १९ गते सोमबार ०७:३३
वीरगंज १४ जेष्ठ । वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहले वडा नं. २७ स्थित उदयपुरघुर्मीमा निर्माणाधीन कालोपत्रे सडकको निरीक्षण गरेका छन् । सो सडकमा कालोपत्रे प्रक्रिया अघि बढाउन अतिक्रमण हटाउने र सडकको बेस निर्माणको काम भइरहेको छ । निरीक्षणको क्रममा महानगर प्रमुख सिंहले निर्माण कार्यको गुणस्तरप्रति ध्यान दिन जोड दिए । यस्तै वडा नं. २१ परवानीपुरमा निर्माणाधीन सडकको पनि महानगर प्रमुख सिंहले आजै निरीक्षण गरे । वडा नं. २१ मुख्य सडकबाट पटेल नगरजाने सडक निर्माणमा भएको अवरोध हटाएर अहिले निर्माणको काम धमाधम भइरहेको छ । यस्तै वडा नं. १४ स्थित सानो पिपरा बौद्धिमाईमा सम्पन्न भएको कालोपत्रे सडकको पनि उनले निरीक्षण गरे । सडक निरीक्षणको क्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, वडा नं. २७ का वडाध्यक्ष हृदयनारायण प्रसाद कुर्मी, स्थानीय बासिन्दा तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो । स्थानीय बासिन्दाहरूले सडक निर्माणले आवागमन सहज हुनुका साथै आर्थिक र सामाजिक विकासमा समेत टेवा पुग्ने अपेक्षा व्यक्त गरेका छन् । वीरगंज महानगरपालिकाले विभिन्न वडाहरूमा आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सडक, ढल र खानेपानी जस्ता परियोजनाहरूमा तीव्रता दिएको छ । महानगरको ग्रामीण क्षेत्रलाई बजारसँग जोड्न अहिले हरेक वडामा कालो पत्रे सडक निर्माणको काम तीव्र रूपमा भइरहेको महानगरले जनाएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस