२०८२ जेष्ठ १८ गते आईतवार २२:५६
वीरगंज, १४ जेठ । मोटरसाइकल दुर्घटनामा परेर बारा जिल्लाको पचरौता नगरपालिका–१ पिपरपातीका एक परिवारका तीन जनाको मृत्यु भएको छ । भारतको रक्सौलबाट फर्किंदै गर्दा छौडादानोको बखरी गाउँमा नजिकै मोटरसाइकल दुर्घटनामा परेर पाँच महिनाका नाबालकसहित एकै परिवारका तीनजनाको ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पाँच महिनाका शिशु दिव्यांश साह, उनकी २० वर्षीया आमा रेश्मीदेवी र ५० वर्षीया हजुरआमा राजकुमारी देवी रहेका छन् । तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा २५ वर्षीय धर्मराज साह गम्भीर घाइते भएका छन् । उनको हाल भारतको मोतिहारीस्थित अस्पतालमा उपचार भईरहेको छ । धर्मराजको शरीरको विभिन्न भागमा गम्भीर चोट रहेको र हातखुट्टा भाँचिएको बताइएको छ । धर्मराज साह आफ्नो पाँच महिनाको छोराको उपचारका लागि पत्नी र आमासहित रक्सौल गएका थिए । उपचारपछि घर फर्कंदै गर्दा सडक निर्माणको क्रममा खनिएको खाल्डोमा मोटरसाइकल दुर्घटनामा परेको स्थानीयले जानकारी दिएका छन् । धर्मराजको आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा पनि समस्या देखिएको छ । घटनापछि पचरौता नगरपालिकाका नगर प्रमुख जलान्धर सिंहले धर्मराजको उपचारका लागि एक लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेका छन् । उनले यो दुर्घटना अत्यन्त दुःखद र हृदयविदारक छ । पीडित परिवारलाई तत्काल राहत पुग्ने गरी सहयोग उपलब्ध गराउनेछु’ नगर प्रमुख सिंहले भने । धर्मराजको उपचारका लागि समुदायस्तरबाट सहयोग जुटाउन अभियान शुरू गरिएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस