प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले यादवले आठ जिल्लाका प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा पाँच किलोमिटरका दरले ३२० किलोमिटर सडक निर्माण हुने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार डिजिटल प्रविधिमार्फत शिलान्यास गरेसँगै सडक निर्माण शुभारम्भ हुने उहाँले जानकारी दिनुभयो । “सडक निर्माणका लागि स्रोत सुनिश्चितता भएर निर्माणको प्रक्रिया अगाडि भइसकेको छ । ठेक्का प्रक्रिया सम्बन्धित जिल्लाका पूर्वाधार कार्यालयमार्फत भइसकेको छ । सडकको निर्माणकार्य तीन वर्षभित्र पूरा गरिने छ”, मन्त्री यादवले भन्नुभयो ।
कुल ३२० किमी सडकमध्ये पहिलो चरणमा २०० किमी सडकको निर्माण भइसकेको मन्त्रालयका निमित्त सचिव सञ्जयकुमार साहले जानकारी दिनुभयो । अब निर्माण गरिने सडकमध्ये गाउँ क्षेत्रमा फरक र सुहाउँदो प्रविधि तथा गाउँ बाहिर स्फाल्ट प्रविधिको कालोपत्र गरिने उहाँले बताउनुभयो । सडकको चौडाइ साढे पाँचदेखि सात मिटरसम्म हुनेछ ।
यस्तै, आठवटै जिल्लाका ६४ प्रदेशसभा निर्वाचन क्षेत्रमा एक÷एक वटा पक्की पुल निर्माण गरिने गरी प्रक्रिया अगाडि बढाइएको पनि मन्त्रालयले जनाएको छ । रासस