गोष्ठीमा मधेश प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले पारदर्शी, जवाफदेही र जनमैत्री बन प्रशासन निर्माण गर्न सबै सरोकारवालाको साझा पहल आवश्यक रहेको बताउनुभयो । उहाँले अब सबै जिल्लामा वनसँग सम्बन्धित राजस्व उठाउन सबैले प्रयास गर्न आवश्यक छ ।
मन्त्री यादवले भन्नुभयो, “जस्तोसुकै अवस्थामा पनि राज्यको समृद्धिका लागि वन संरक्षण र राजस्व वृद्धि अत्यावश्यक छ । ‘सेटिङ’ शब्दलाई वन प्रणालीबाट जरैदेखि हटाउनु जरुरी रहेको उहाँको भनाइ थियो ।
सो अवसरमा मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेलले वन कर्मचारीको काँधमा ठूलो जिम्मेवारी रहेकोे उल्लेख गर्दै वन क्षेत्रलाई कसरी राम्रो गर्ने भन्नेतर्फ लाग्न सबैमा आग्रह गर्नुभयो । वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले वन अतिक्रमण क्षेत्रको व्यवस्थापनका लागि विशेष ध्यान दिन जरुरी रहेकोे बताउनुभयो ।
वन निर्देशनालयका निर्देशक जगरनाथ जैसवालले आर्थिक वर्ष २०८१÷८२ मा ७८ लाख ५७ हजार ९५१ बिरुवा उत्पादन, ३८४.८३ हेक्टरमा वृक्षरोपण, १७५ हेक्टरमा रहेको अतिक्रमण हटाउन सफल र राजस्व सङ्कलन रु १२ करोड ८९ लाख ९९ हजार रहेकोे उहाँले जानकारी दिनुभयो । रासस