सो अन्तरक्रियामा मुख्यमन्त्री सिंहले पानी, वन र माटोको संरक्षणले मात्र दिगो विकासको बाटोमा अघि बढ्न सकिने धारणा राख्नुभयो । उहाँले प्रदेश सरकारले वातावरण संरक्षण तथा जलस्रोत व्यवस्थापनमा विशेष प्राथमिकता दिएको पनि उल्लेख गर्नुभयो । मुख्यमन्त्री सिंहले चुरे क्षेत्रको संरक्षणसँग मधेसको भविष्य गाँसिएको बताउनुभयो । उहाँले जल स्रोतको दिगो व्यवस्थापनमा सङ्घीय, प्रदेश र स्थानीय तहबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा मधेस प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले चुरे क्षेत्रको अव्यवस्थित दोहनले तराई–मधेसमा गम्भीर जलसङ्कट सिर्जना गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानीको अभाव र बाढीको जोखिमले मधेसलाई बर्सेनि ठूलो क्षति पु¥याइरहेको छ । यो समस्याको समाधानका लागि वैज्ञानिक अनुसन्धान, स्थानीय सहभागिता र सरकारी प्रतिबद्धता अनिवार्य छ ।”
सो कार्यक्रममा राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलले चुरे क्षेत्रमा पानीको मुहान संरक्षण नगरेसम्म तराई र मधेसमा पानीको सङ्कट झनै गम्भीर हुन बताउनुभयो । उहाँले चुरे क्षेत्रको जल स्रोत संरक्षण र व्यवस्थापनमा सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “संरक्षणमा केवल एक निकायको प्रयास पर्याप्त हुँदैन, सङ्घीय, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य आवश्यक छ भन्नुभयो ।”
कार्यक्रममा वन विज्ञ, वातावरणविद्, स्थानीय सरकारका प्रतिनिधि, विभिन्न सरकारी तथा गैर–सरकारी संस्था, र जनप्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा चुरे क्षेत्रका जलस्रोत, तिनीहरूको संरक्षण रणनीति, वातावरणीय असर र समुदायको भूमिकासम्बन्धी विषयमा छलफल भएको थियो ।