ग्यासु मिया देवान
बीरगञ्ज । एम,इ,एस सेकेन्डरी स्कूलद्वारा आयोजित विज्ञान प्रदर्शनी तथा खाना महोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।
विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रम विद्यालयका चेयरम्यान एमामुद्दिन अहमदको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रमका प्रमुख अतिथि बीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम रहेका थिए ।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि आलमले यस्ता शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमले विद्यार्थीहरूमा अनुसन्धानमूलक सोच, नवप्रवर्तन क्षमता र आत्मविश्वास अभिवृद्धि गर्ने बताउनुभयो । उहाँले विज्ञान र प्रविधिको युगमा यस्ता प्रदर्शनीले विद्यार्थीलाई व्यवहारिक ज्ञान हासिल गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराई, बीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार, ॐ इन्टरनेसनल यस स्कूलका चेयरम्यान लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । विज्ञान प्रदर्शनीमा विद्यार्थीहरूले विभिन्न वैज्ञानिक मोडेल, परियोजना तथा नवप्रवर्तनात्मक सामग्री प्रस्तुत गरेका थिए ।
त्यसैगरी, खाना महोत्सवअन्तर्गत विद्यार्थीहरूले तयार पारेका परिकारहरूको स्टल राखिएको थियो, जसले उपस्थित अतिथिहरू तथा अभिभावकहरूको ध्यान आकर्षित गरेको थियो । विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा आत्मनिर्भर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । कार्यक्रम उत्साहपूर्ण वातावरणमा सभ्य र भव्य रुपमा सम्पन्न भएको थियो ।
















