बाराको महागढीमाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ८१ करोड ५८ लाख ७९ हजार ३ सय २१ रुपैयाँको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
नगरप्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा सोमबार सम्पन्न नगरपालिकाको ९ औं नगर सभाबाट बजेट सार्वजनिक गरिएको हो ।
बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, सरसफाइ, खानेपानी, कृषि तथा धार्मिक क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ ।
सरकारबाट प्राप्त हुने अनुमानित अनुदानअनुसार संघीय सरकारबाट १४ करोड ७ लाख रुपैयाँ बराबरको समानिकरण अनुदान, २५ करोड ३७ लाख चालू सशर्त अनुदान, १५ करोड ५४ लाख पुंजीगत सशर्त अनुदान, १ करोड ४४ लाख विशेष अनुदान, ८७ लाख समपुरक अनुदान र ११ करोड ४४ लाख राजस्व बाँडफाँड अनुदान प्राप्त हुने जनाइएको छ ।
त्यस्तै, प्रदेश सरकारबाट ९९ लाख ९५ हजार समानिकरण अनुदान, ९५ लाख सशर्त अनुदान, ३० लाख विशेष अनुदान, २० लाख समपुरक अनुदान र ६९ लाख ८४ हजार ३ सय २० रुपैयाँ राजस्व बाँडफाँड अनुदान प्राप्त हुने अपेक्षा गरिएको छ ।
नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट पनि ९ करोड ५० लाख रुपैयाँ उठाउने लक्ष्य राखेको छ ।
सभामा उपप्रमुख तारा देवी कानु, वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य प्रमुख प्रशासनिक अधिकृत लक्ष्मण साहले दिएका थिए भने सञ्चालन शिक्षा शाखा प्रमुख रामबिश्वास चौरसियाले गरेका थिए ।