रक्सौल (बिहार)
इन्स्पेक्टर मनोज कुमार शर्मा जुलाई २०२४ मा असम (भारत) सरुवा भए पनि भारत–नेपाल सीमामा उनले गरेका मानवीय कार्यहरू आज पनि उदाहरणीय बनेका छन् ।
यस्तै एक मार्मिक घटनामा उनले मानसिक रूपमा अस्वस्थ र बेसहारा एक वृद्ध महिलालाई सुरक्षित उद्धार गरी झण्डै दुई वर्षपछि परिवारसँग पुनर्मिलन गराएका छन् ।
घटनाको सुरुवात:
०१ मे २०२४ को राति करिब ११:३५ बजे भारत–नेपाल सीमा नजिक हाजमा टोला क्षेत्रमा गस्तीका क्रममा इन्स्पेक्टर शर्माले रेल्वे लाइन र सरकारी विद्यालय नजिक झाडीमा लुकेर बसेकी एक वृद्धालाई अत्यन्त दयनीय अवस्थामा फेला पारे ।
उक्त महिलासँग कुराकानी गर्दा उनी मानसिक रूपमा अस्वस्थ रहेको स्पष्ट भयो। त्यसपछि उनले तुरुन्तै आफ्नो टोलीलाई बोलाएर उद्धार कार्य अघि बढाए र माहेर ममता निवास रक्सौललाई जानकारी गराए।
उद्धार र उपचार:
इन्स्पेक्टर शर्माको नेतृत्वमा रहेको टोलीले वृद्धालाई सुरक्षित रूपमा उद्धार गरी माहेर ममता निवासमा राख्यो ।
त्यहाँबाट उनको निरन्तर उपचार रक्सौल स्थिति डंकन अस्पतालमा गरियो। लामो समयको हेरचाह र उपचारपछि ती महिला पूर्ण रूपमा स्वस्थ भइन् ।
स्मरण शक्ति फर्किएपछि खुल्यो पहिचान:
स्वास्थ्य सुधार भएपछि महिलाको स्मरण शक्ति बिस्तारै फर्कियो। उनले आफ्नो घर क्षेत्र र नजिकको प्रहरी चौकीबारे जानकारी दिइन्। त्यस आधारमा सम्बन्धित प्रहरीमार्फत परिवारसँग सम्पर्क स्थापित गरायो ।
परिवारका अनुसार, अप्रिल २०२४ मा खेतबाट फर्किँदा उनकी आमा अचानक हराएकी थिइन् र धेरै खोज्दा पनि कुनै पत्ता लागेको थिएन ।
भावुक पुनर्मिलन:
झण्डै दुई वर्षपछि आमालाई सकुशल देख्दा परिवारका सदस्यहरू अत्यन्त भावुक भए। खुशीका आँसुका साथ उनीहरूले उद्धार टोलीप्रति गहिरो कृतज्ञता व्यक्त गरे ।
परिवारलाई जिम्मा:
०५ अप्रिल २०२६ मा वृद्धालाई उनका भाइ जयपाल गोंडलाई, हरैया थानाका अध्यक्ष किशन पासवानको उपस्थितिमा विधिवत जिम्मा लगाइएको छ ।
त्यसपछि उनी मध्यप्रदेशको अनूपपुर जिल्लास्थित आफ्नै गाउँ खुशी साथ फर्किइन् ।
उद्धारमा संलग्न टोली:
यस मानवीय कार्यमा इन्स्पेक्टर मनोज कुमार शर्मा, उपनिरीक्षक अनिल कुमार शर्मा, कांस्टेबल जितेन्द्र, महिला कांस्टेबल टीनू कुमारी, पिंकी कुमारी, साथै माहेर ममता निवासका बीरेन्द्र कुमार र सुप्रिया बोदरा लगायतको महत्वपूर्ण भूमिका रहेको थियो ।
निष्कर्ष:
यो घटना केवल एउटा उद्धार कार्य मात्र नभई मानवता, करुणा र कर्तव्यनिष्ठाको उत्कृष्ट उदाहरण हो। कर्तव्यसँग संवेदनशीलता जोडिँदा समाजमा यस्ता प्रेरणादायी घटनाहरू सम्भव हुने प्रमाण यो घटनाले दिएको छ ।














