ग्यासु मिया देवान
बिरगंज / भारतको महावाणिज्य दूतावास बिरगंजले मधेश प्रदेशको सप्तरी जिल्लास्थित सुरुङ्गा नगरपालिकामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत निर्माण गरिएको श्री जनता माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन गरेको छ ।
उद्घाटन भारतीय महावाणिज्य दूत श्री देवी सहाय मीना र सुरुङ्गा नगरपालिकाकी मेयर गीता चौधरीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
नयाँ विद्यालय भवन भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।
परियोजना अन्तर्गत विद्यालयका भौतिक पूर्वाधार तथा शैक्षिक सुविधामा सुधार गरिएको जनाइएको छ। स्थानीय तहमार्फत कार्यान्वयन गरिएको यो परियोजनाले विद्यार्थीलाई गुणस्तरीय शिक्षाका लागि सहज वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ ।
सन् १९५१ मा स्थापना भएको श्री जनता माध्यमिक विद्यालयमा हाल ECD देखि स्नातक तहसम्म अध्ययन हुँदै आएको छ । विद्यालयमा करिब ६७० विद्यार्थी अध्ययनरत छन्, जसमा ३८५ छात्रा रहेका छन् ।
उद्घाटन कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाले भारत सरकारको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।
उनीहरूले नयाँ भवनले शिक्षाको गुणस्तर सुधार गर्न तथा विद्यार्थीको अध्ययन वातावरण थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
भारत र नेपालबीचको विकास साझेदारीअन्तर्गत सञ्चालित HICDP परियोजनाले शिक्षा, स्वास्थ्य तथा सामुदायिक पूर्वाधार विकासमा सहयोग पुर्याउँदै आएको बताइएको छ ।












